कारागारलाई खाट हस्तान्तरण

दमौली । तनहुँको व्यास नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दी भुइँमै सुत्ने गरेको समाचार प्रकाशित भएसँगै व्यास नगरपालिकाले कारागारलाई खाट हस्तान्तरण गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले ४० थान खाट आज प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई हस्तान्तरण गरेका हुन् । नगरप्रमुख न्यौपानेले कारागार सुधारको पक्षमा व्यास नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गरे । कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने र कारागारलाई आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट सहयोग रहने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी आचार्यले सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि कारागार व्यवस्थापनका लागि सहयोग पुगेको बताए । तीन तहको सरकारको सहयोग र सहकार्यले सुधार सम्भव रहेको बताउँदै नगरपालिकाको सहयोग सराहनीय रहेको बताए। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले कैदीबन्दीले आफूलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।

कारागारका प्रमुख धु्रवसिं खड्का अनुसार व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट दुई जना सुत्न मिल्ने ११, शुक्लागण्डकी नगरपालिकाको तर्फबाट ५० हजार, बन्दीपुर गाउँपालिकाको तर्फबाट ५, क्रिष्टिना गुरुङको तर्फबाट दुई जना सुत्न मिल्ने ६ थान खाट सहयोग प्राप्त भएको छ । भानु नगरपालिका र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

कारागारमा खाट सहयोग प्राप्त भएसँगै कैदीबन्दी खुशी भएका छन् । चिसो मौसममा भुइँमा सुत्दा बिरामी हुने समस्या भएकाले खाट प्राप्त भएपछि कैदीबन्दी खुशी भएको नाइके विष्णुहरि घिमिरेले जानकारी दिए ।

कारागारका सूचना अधिकारी नारायण अधिकारीका अनुसार हाल कैदीबन्दी गरी २ सय २७ कैदीबन्दी छन् । जिल्ला कारागारमा हालसालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवन निर्माण भएपनि कैदीबन्दीको संख्या बढेसँगै व्यवस्थापनमा भने समस्या हुँदै आइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?