सभामुखदेखि सीमाविद्सम्मको नजरमा कस्ता थिए गणेशमान ?

काठमाडौं । सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ ।

सिंहको जन्मजयन्तीका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको सम्बाहक र त्यागी नेताका रुपमा सम्झेका छन् । तत्कालित समयमा राष्ट्रिय एकताका लागि उनले खेलेको भूमिको नेताहरुले प्रशंसा गरेका छन् । सिंहको जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमानसिंहले राष्ट्रिय एकताका लागि लिएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताए ।

राष्ट्रिय एकताका लागि उनले लिएका कदमहरु कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित गरेको उनले बताए । कम्युनिष्ट र कांग्रेस भनेर सधै विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराएको सभामुख सापकोटाले बताए । उनले भने, ‘‘गणेशमान सिंह राष्ट्रिय एकताका पक्षपाती हुनुहुन्थ्यो भन्ने कुरा २०४६ मा प्रमाणित भएको छ । २०४६ कांग्रेस र कम्युनिष्ट भनेर विभिन्न विवाद, बहस हुने गर्थे उहाँले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृह गर्नुभयो । उहाँले राख्नुभएको राष्ट्रिय एकताको भावना अझै परिपूर्ण हुन बाँकी छ तर उहाँले लिनुभएको पहलका कारण कांग्रेस कम्युनिष्ट नभनि नेपालको संविधान जारी गर्न सकेका हौँ ।’’

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरंकुश पञ्चायित व्यवस्था विरुद्ध सफता हासिल भएको बताए । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले राजनीतिकलाई पेशका रुपमा लिने गरेको भएपनि सिंहले राजनीतिलाई सधै सेवाको रुपमा लिने गरेको उनले स्मरण गरे । उनले भने, ‘‘अहिले राजनीतिमा लागेकाहरुको बीचमा पदमा पुग्नुपर्छ । अझ शीर्ष तहमा गएकाहरु प्रधानमन्त्री हुनुपर्छ । (कसैप्रति टिप्पणी गर्न खोजेको होइन) प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक पटक हुनुपर्छ भन्ने छ । (कसैप्रतिको टिप्पणी होइन) तर म आफै आग्रह गर्ने गर्छु राजनीति पेशा होइन सेवा हो । त्यती बेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो । आफु प्रधानमन्त्री हुनुभएन् । आफ्ना साथीभाइलाई बनाउनुभयो । त्यसैले धेरै प्रधानमन्त्रीहरु भन्दा अगाडी उहाँको सम्झना गरिन्छ । उहाँको नाम अगाडी आउँछ । सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नरहेछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ ।’’

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले सिंहले संगठन/सरकारमा जहाँ भएपनि आफ्नो फरक मत राखेपनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताइन् । पार्टीले गरेका हरेक निर्णयहरु स्वीकार गर्ने सिंह क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरुले सिक्न जरुरी रहेको उनले बताइन् । उनले भनिन्, ‘‘संगठन वा सरकारमा जहाँ भएपनि उहाँले आफ्नो विचार राख्नुहुन्थ्यो फरक मतको रुपमा तर उहाँले लोकतन्त्र र राजनतिक दल कमजोर हुनेगरी कहिलेपनि आफ्नो काम गर्नुभएन । पार्टीको निर्णय स्वीकार गर्ने उहाँको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ ।’’

कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको छ । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद हल गर्नुपर्ने बताए । चीनले सगरमाथामा आफ्नो दावी गर्दा विपि कोइरालाले विवाद समाधानका लागि खेलेको भूमिका अहिलेको राजनीतिक नेतृत्वले पनि खेल्नुपर्ने उनले बताए । सम्मानले अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको सम्पूर्ण नेपालको भूमि समेटिएको नक्साहरु प्रकाशनको तयारी गरेको बताए । उनले आफुले नेपालको नयाँ नक्सा सहितको किताब प्रकाशनको तयारीमा आफु रहेको बताएका हुन् ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका थिए । नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका बनाएका थिए । २०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?