जन्मदिनको खर्च शैक्षिक कार्यमा

तम्घास । जन्मदिन मनाउँदा ठूलो खर्च गरी केक काट्ने गरेको सबैले देखेकै छौँ । आजकाल यहाँ भने जन्मदिन मनाउने तरिका फरक हुन थालेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलका अनिलकुमार जिसीले जन्मदिनको खर्च कुनै केक काट्नमा नभई विद्यार्थीको शैक्षिक क्षेत्रमा खर्च गरेका छन् । शुक्रवार जिसीको जन्मदिन हो ।

त्यसैका अवसरमा उनले धुर्कोट –४ जैसीथोक रातापोखराकी मीना कुँवरकी छोरी पाञ्चायन माध्यमिक विद्यालय, कक्षा ७ मा अध्ययन गर्ने करिश्माको आगामी वर्षका लागि शैक्षिक खर्च प्रदान गरेका हुन्। जन्मदिनका अवसरमा उनले कापी, कलम, पोशाक, जुत्ता, झोलालगायत सामग्री प्रदान गरेका हुन् ।

अहिले केसी मुसिकोट नगरपालिका वडा नम्बर २ मा पशु स्वास्थ्य शाखा सम्बन्धमा करारमा नियुक्त भई काम गर्दै आएका छन् । गत असोज ९ गते नेकपा जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य विनिता पोखरेलको जन्मदिन परेको थियो । उनको जन्मदिनमा पनि उहाँले करिश्माका दाइ कक्षा ८ मा पढ्ने विशालको आगामी शैक्षिक सत्रका लागि शैक्षिक खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए ।

करिश्माकी बहिनी कक्षा ३ मा पढ्ने लक्ष्मीलाई पाञ्चायन माविका पूर्वशिक्षक एवम् सिटिजन लाइफ इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख दीपक पोखरेलले एक वर्षको शैक्षिक खर्च व्यहोर्ने घोषणा गरेका छन् । केसी र पोखरेल दुवैले आफूहरुसँग धेरै पैसा नभई विद्यार्थीको पढ्न पाउने हकलाई सुनिश्चित गर्न सहयोग गरिएको बताए।

पछिल्लो समय यहाँ जन्मदिनका अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने लहर नै चलेको छ । बुधवार नेकपा जिल्ला कमिटी सदस्य नरेश भण्डारीले पीपलधाराका दुई विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका थिए । यसअघि पनि विभिन्न व्यक्तिले आफ्नो जन्मदिनका अवसरमा जैसीथोक, वस्तुलगायत ठाउँका विभिन्न विद्यार्थीलाई न्यूनतम एक वर्षलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?