काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रअका प्रमुखसँग गोप्य भेटेको भन्ने समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ ।
बुधवार भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ प्रमुख सामन्त कुमार गोयल सुटुक्क नेपाल आएका थिए । केही घण्टाका लागि नेपालमा आएका उनी किन र के प्रयोजनका लागि नेपाल आए भन्ने तथ्य बाहिरिएको छैन् ।
प्रचण्डसहित नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समेत रअका प्रमुख गोयलसँग सुटुक्क भेटेको भन्ने समाचार प्रति प्रचण्डको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रचण्डको पेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बिहीवार एक विज्ञप्ति जारी गर्दै संवेदनशील विषयमा झुट, कपोकल्पित र भ्रामक समाचारप्रति आपत्ती जनाउँदै भ्रममा नपर्न समेत आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।”
आगामी नोभेम्बर पहिलो साता भारतीय सेनाका प्रमुख एमएम नरबाणेले नेपालको भ्रमण गर्न लागेका छन् । त्यसैको पूर्वसन्ध्यामा गोयल नेपाल आउनुलाई अर्थपूर्ण हेरिएको छ । यद्यपी उनी बुधवार नै फर्किने भनिएपनि बिहीवार बिहान मात्रै भारत फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया