जग्गाधनी स्थायी लालपुर्जा वितरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ स्थित वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीलाई स्थायी लालपुर्जा वितरण शुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनी उत्साहित भएका छन् ।

नगर प्रमुख डा धवलशम्शेर राणा र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गरे । कार्यक्रममा नगर प्रमुख डा. राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भई सम्पन्न हुने चरणमा पुगेको बताए। स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत्लगायत कामका लागि करीब ८० करोडको बोलपत्र आह्वान प्रक्रियामा रहेको जनाइएको छ ।

उपमहानगरपालिकाका अनुसार परियोजनाअन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाइन र रङ एकै प्रकारको हुने भएको छ । डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माण सम्पन्न गर्ने गरी तयारीसमेत गरिएको छ । विसं २०६७ मा आयोजना स्वीकृत भएको हो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयवासीले घर निर्माणलगायत अन्य कार्य गर्न पाउने भएका छन् ।

परियोजनाअन्तर्गत ६६२ जनालाई स्थायी पुर्जा वितरण गरिँदैछ । बाँकी जग्गा भने प्लटिङ गरी बिक्री गरिनेछ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । ‘नौकाविहार, चमेनागृह र माछापालनका लागि ठेक्कासमेत भइसकेकाले केहि दिनभित्र सञ्चालनमा आउने छ’, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।

तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ । उद्यानमा आकर्षक र मनमोहक फूलबारी, बालोद्यान, व्यापारिक प्रयोजनका पसलकोठालगायत संरचना निर्माण भएका छन् । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोडने २१ मिटर चौडाइको मुख्य सडक पनि उद्यानसँग जोडिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?