बिष्णु पौडेल : पहिले विवादमा, अहिले अर्थ मन्त्रालयमा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गरेका छन् ।

रिक्त रहेको मन्त्रालयमा तीन मन्त्रीको नियुक्ती गरेका छन् भने रक्षा मन्त्रालय आफैसँग राखेर निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई उप-प्रधानमन्त्रीसहित प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिएका छन् ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएसँगै अर्थमन्त्रालय कस्ले सम्हाल्छ ? भन्ने ठुलै बहस चलेको थियो । वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने देखि सुरेन्द्र पाण्डे लगायत केहीको नाम तोकेरै अर्थ मन्त्रालयको जिम्मेवारी दिइने भन्ने सम्बन्धमा विभिन्न कोणबाट व्यापक छलफल भएको थियो । रिक्त रहेको मन्त्रालयको पदपूर्ती गर्न बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले अर्थ मन्त्रालयमा विष्णु पौडेललाई सिफारिस गर्‍यो र यो सँगै बिहिबार पौडेलसहित नवनियुक्त ३ मन्त्रीहरुले सपथ ग्रहण समेत गरिसकेका छन् ।

यसअघि देशको २९ औँ अर्थमन्त्री बनेका पौडेल बुधवार पुनः देशको ३३ औँ अर्थमन्त्रीको बनेका छन् ।

विस २०१६ सालमा स्याङ्जामा जन्मिएका पौडेल स्कूल पढ्दा पढ्दै भूमिगत राजनीतिमा होमिएका थिए । ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए । पौडेल ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका थिए ।

लो प्रोफाइल नेताका रुपमा रहेका पौडेल संसदीय राजनीतिमा वि.सं २०५१ सालबाट प्रवेश गरेका थिए । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । त्यसपश्चात ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने ।

ओली प्रधानमन्त्री भएकै बेलामा ओली अर्थमन्त्री भएका थिए । शेयर बजारमा केही सकारात्मक सुधारका काम भए पनि आम मानिसहरुको नजरमा भने सफल अर्थमन्त्रीको रुपमा भने पहिचान बनाउन सकेनन् ।

२०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको आर्थिक अवस्था जर्जर बनाएको अवस्थामा ओली र अर्थमन्त्री विष्णु पौडेल नै नेतृत्वमा थिए भने कोरोनाले थिलथिलो बनाउँदै लगेको यो अवस्थामा पुनः उनीहरूले नै सम्हाल्ने अवस्थामा आएका छन् ।

यो एक अवसरका साथसाथै ठूलो चुनौती पनि हो । यसको नतिजा त समयले देखाउँनेनै छ ।

तत्कालीन एमाले र तत्कालीन माओवादी पार्टी एकीकरण गरेपछि बनेको पार्टीको केन्द्रीय कमिटीमा ईश्वर पोखरेललाई पन्छाउँदै महासचिव बनेका थिए । तर, महासचिवमा रुपमा काम गर्न थालेपछि उनी बालुवाटारको ललिता निवासको सरकारी जग्गालाई व्यक्तिका नाममा पु¥याएको घोटालामा मुछिए । उनका छोरा नवीन पौडेलका नाममा ललित निवासभित्र जग्गा भेटिएको थियोे । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा फिर्ता गरेको भन्दै उन्मुक्ति दिएको थियो ।

पछिल्लो सयममा विभिन्न विचौलियाहरुको शक्ति केन्द्रका रुपमा काम गर्ने गरेको आरोप पनि पौडेलमाथि रहेको छ । नेपालका आयोजनाहरुको लाइसेन्स र ठेक्का लिएर अलपत्र पार्ने चिनियाँ कम्पनीका एजेन्ट दीपक भट्टसँग पनि उनको नाम जोडिएको थियो ।

नेकपाभित्र पार्टी र गुटलाई आवश्यक पर्दा छिटो सहमति मात्रै हैन, ‘आर्थिक स्रोत’ पनि जुटाउन सक्ने नेताका रुपमा पौडेल चिनिन्छन् । अब उनी पार्टीको मात्रै हैन, डामाडोल अवस्थामा पुग्न लागेको राज्यको ढुकुटीको स्रोत जुटाउने भूमिकामा पुगेका छन् ।

देशको अर्थव्यवस्था खस्किदै गएको अवस्था छ । कृषि, रोजगारी, आर्थिक वृद्धि लगायत सम्पूर्ण अर्थतन्त्र घरासायी बन्दै गएको छ । यस्तो समयमा पौडेलले आफूले आफैलाई प्रमाणित गर्ने एउटा ठूलो अवसर पनि पाएका छन् । यस चुनौतीले भरिएको अवसरमा पौडेलले आफुलाई कत्तिको सावित गर्छन त्यो समयले पक्कै देखाउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?