कांग्रेसमा ‘गुट रोग’, प्रतिपक्ष कमजोर बन्ने चिन्ता

काठमाडौं, ३ चैत- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ । संविधानसभाको दोस्रो निर्वाचनबाट संसद्को पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्न भिन्न हुँदा राज्यका महत्वपूर्ण पदहरूसमेत गुमाउन पुगेको छ ।आन्तरिक रूपमा बलियो हुनुपर्ने अवस्थामा समेत कांग्रेस एक हुन नसक्दा संसद्मा कांग्रेसले देखाउने प्रतिपक्षीको भूमिका समेत कमजोर हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।मुलुकमा प्रजातन्त्र स्थापनादेखि राणा शासनको अन्त्य र राजतन्त्रको अन्त्य हुँदै गणतन्त्रको प्रारम्भसम्मको अनुभव प्राप्त कांग्रेस संविधान जारी गर्दै मियोको भूमिकामा रहँदा समेत पछिल्लो निर्वाचनको परिणामपछि संसद्मा एक चौथाइको स्थानमा खुम्चिन पुगेको हो ।राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइमा नेतृत्वमा विचारप्रतिको दर्शन, संगठन र नेतृत्व हाँक्ने क्षमता क्षीण हुँदा निर्वाचनमा कमजोर भएको कांग्रेस प्रतिपक्षमा समेत कमजोर हुने अवस्था आएको देखिन्छ ।‘बीपीदेखि सुशील कोइरालासम्म नेतृत्वमा रहँदा कांग्रेसभित्र विचार दर्शन, संगठन र नेतृत्वप्रतिको क्षमता थियो तर पछिल्लो नेतृत्व सबै कुरामा कमजोर हुँदा निर्वाचनदेखि प्रतिपक्षको भूमिकामा समेत कमजोर हुने अवस्था देखा परेको छ,’ आचार्यले भने ।उनले आन्तरिक गुट उपगुटका कारण पछिल्लो समय प्रतिपक्षमा रहँदा समेत कांग्रेसप्रतिको चिन्ता र चासो झनै बढेको बताए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?