पहिरोपीडितलाई चार लाख २१ हजार रुपैयाँ सहयोग

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई चार लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग सङ्कलन गरी चार लाख २१ हजार १९० रुपैयाँ सहयोग गरेका हुन् । सो सहयोग रकममध्ये मल्कबाङ हेल्थ पोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले १० हजार सहयोग गरेका थिए ।

सङ्कलित रकम शनिवार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताए । राहत रकममध्ये धवलागिरि गाउँपालिका–६ मराङका २१ जना मृतकका आफन्तलाई रु १२ हजारको दरले राहत दिइएको छ । त्यसैगरी बाढीपहिरोले पूर्ण क्षति भएका १३ घरधुरीलाई सात हजार रुपैयाँका दरले र आंशिक क्षति भएका १२ जनालाई पाँच हजार रुपैयाँका दरले राहत दिइएको थियो । त्यसैगरी स्थानीय गाउँमा अपाङ्गता भएका पाँच जनालाई एक हजार ५०० रुपैयाँका दरले सहयोग गरिएको छ ।

वितरण गरिएको सहयोग रकम जुटाउन मल्कबाङ घर भएर प्रवासमा रहेका युवा रविन्स घरब्जा छन्त्यालले समन्वय गरेका थिए । छन्त्यालको सक्रियतामा कतारबाट एक लाख ७८ हजार ८०० रुपैयाँ, धन छन्त्याललको सक्रियतामा अष्टेलियामा एक लाख १९० रुपैयाँ, देवेन्द्र छन्त्याल र चित्र छन्त्यालको सक्रियतामा जापानबाट एक लाख २२ हजार ३९३ रुपैयाँ सहयोग सङ्कलन भएको थियो ।

बाढीपहिरोबाट मृतक र प्रभावितलाई सहयोग

मार्तडी– बाजुरा जिल्लामा लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित र ज्यान गुमाएका आफन्तलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल निजामती कर्मचारीको छाता सङ्गठन आधिकारिक टे«ड युनियन र नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति र जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा राहत वितरण गरिएको निजामती कर्मचारी सङ्गठन बाजुराका अध्यक्ष मीनप्रसाद जैशीले बताए ।

उनले बाढीपहिरोबाट ज्यान गुमाएका आफन्त र सोबाट प्रभावित भएका परिवारलाई राहतस्वरुप नगद सहयोग गरिएको बताए। बाढीपहिरोबाट ज्यान गुमाएका पाँच जना आफन्तलाई आधिकारिक ट्रेड युनियनबाटसात हजारका दरले ३५ हजार रुपैयाँ, नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिबाटएक हजार ५०० रुपैइाँ र जिल्ला कार्यसमितिबाट दुई हजार ५०० रुपैयाँ गरी ५५ हजार रुपैयाँ नगद सहयोग गरिएको आधिकारिक ट्रेड युनियनका जिल्ला सचिव दिलीप शाहीले जानकारी दिए।

उनले दिएको जानकारीअनुसार अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आधिकारिक टे«ड युनियनबाट रु चार हजारका दरले ६४ हजार, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिबाट दुई हजारका दरले ३२ हजार गरी ९६ हजार सहयोग गरिएको बताउनुभयो । राहत पाउनेमा बाढीपहिरोमा परी ज्यान गुमाएका बूढीगङ्गा नगरपालिकाका दुई, बडिमालिका नगरपालिकाका एक, बूढीनन्दा नगरपालिकाका एक र गौमुल गाउँपालिका एक जनाका आफन्तलाई प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेमार्फत नगद राहत हस्तान्तरण गरेको टे«ड युनियनका जिल्ला अध्यक्ष धनबहादुर थापाले बताए ।

यस्तै बाढीपहिरोबाट सबैभन्दा बढी क्षति भएका र प्रभावित भएका बूढीगङ्गा नगरपालिकाका दुई, बडिमालिका नगरपालिकाका पाँच, त्रिवेणी नगरपालिकाका एक, जगन्नाथ गाउँपालिकाका दुई, बूढीनन्दा नगरपालिकाका दुई र गौमुल गाउँपालिकाका तीन गरी १६ जनालाई नगद राहत दिएको अध्यक्ष थापाको भनाइ छ । पहिरोबाट घरबारविहीन भएका बडीमालिका नगरपालिकामा कृषि शाखामा कार्यरत प्रेम महतलाई नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिबाट रु २० हजार, जिल्ला कार्यसमितिबाट २२ हजार ५०० गरी ४२ हजार ५०० व्यक्तिगत सहयोग गरिएको छ ।

बाढीपहिरोपीडित १६ परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले आर्थिक सहयोग गरेको छ भने बडिमालिका नगरपालिका कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक प्रेमबहादुर महत एशोसिएशन, कर्मचारी सङ्गठनबाट सङ्कलन गरिएको दुई लाख १८ हजार ५०० सहयोग गरेको छ । पाँच मृतकका परिवार, १६ पीडितपरिवार र एक निजामती कर्मचारीलाई गरेर तीन लाख ७२ हजार रकम राहतस्वरूप हस्तान्तरण गरिएको आधिकारिक टे«ड युनियनका जिल्ला सचिव दिलीप शाहीले बताए ।

राहत रकम केन्द्रीय कार्यसमितिबाट ६० हजार, जिल्ला कार्यसमितिको तर्फबाट ३५ हजार, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बाजुराको तर्फबाट एक लाख र नेपाल कृषि प्राविधिक एशोसिएशन सुदूरपश्चिम कार्यसमितिको पहलमा एक लाख ७७ हजार सङ्कलन गरिएको थियो । राष्ट्रसेवामा समर्पित कर्मचारीले बाढीपहिरोपीडितको समस्यामा सहयोग गर्ने कार्य प्रंशसनीय र स्वागतयोग्य भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?