आईतवारसम्म माग पूरा नभए अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको चेतावनी !

काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा नगरे अत्यवश्यक बाहेकका देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई संघले आइतवारसम्मको अल्टिमेटम दिएको हो । संघले आज एक विज्ञप्ति जारी गर्दै आइतवार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको बताएको छ । साथै संघले आइतवारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको हो ।

संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै असोज २३ गते शुक्रवार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । तर, केसीको माग हालसम्म पनि पूरा हुन नसकेपछि संघले फेरि आन्दोलन गर्ने बताएको हो ।

संघको विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र सवादलाई तार्किक निस्कर्षमा पुर्याई डा. केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको व्यहोरा अवगत गराउँदै डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ति यस संघ बाध्यताबस मिति २०७७ आश्विन २२ गते बिहीवार वार्ता सकारात्मक रुपमा अगाडि बढेको हुनाले आश्विन २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ आश्विन २५ गते आइतवार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?