माई मन्दिरमा कमल ढकमक्क

महोत्तरी । दशैँ शुरु हुन केही दिन अझै बाँकी छ । महोत्तरीको प्रसिद्ध शक्तिपिठ मानिने बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर परिसरको तलाउ कमलका पूmलले ढकमक्क छ । पछिल्लो दुई दशकयता यसपालि नै मन्दिर परिसरको तलाउमा पानी भरिएपछि कमल फुलेको हो ।

करिब दुई दशकअघि मन्दिर परिसरका खोल्सीमा सदावहार कञ्चन पानी बगेको देखेका पाका व्यक्तिहरु यसपालि तलाउ पानीले भरिनु सन्तुलित वर्षाको उपज ठान्छन् । “गत हिउँदमा पनि पानी प¥यो, वैशाखयता पनि निरन्तर वर्षा भइरहेपछि यसपालि वरपरका सबै खोल्सी रसाए”, मन्दिर नजिककै माइस्थान बस्तीका पुराना राजनीतिक, सामाजिक कार्यकर्ता ६० वर्षीय सोमबहादुर कार्की भन्छन्, “अहिले मन्दिर परिसरको भरिभराउ तलाउ र यहाँ ढकमक्क फुलेका कमलले २० वर्ष पहिलेको सम्झना ताजा गराएको छ ।” यसपालि गत चैतदेखिकै कोभिड–१९ संक्रमण सन्त्रासले मानव चहलपहल कम भएपछि खोल्साखोल्सीका रुख बिरुवा जोगिन सहयोग पुगेसँगै सबै खोल्सीबाट कञ्चन पानी बगिरहेको उनी बताउँछन् ।

यसपालि पञ्चधुरा माई मन्दिर परिसरको तलाउ मात्र नभएर वरपरका डावरी (पोखरी, तलाउजस्तै खाल्डा) पानीले भरिभराउ छन् । मन्दिर नजिकैको सशस्त्र प्रहरी बल बाहिनी कार्यालय परिसरको बोरिङले भुलभुलती पानी फ्याँकिरहेको छ । त्यसैगरी बर्दिवास नगर क्षेत्रकै प्रसिद्ध तीर्थस्थल टुटेश्वरधाम, बर्दिवास–३ को राईमण्डल धार्मिक क्षेत्र वरपरका सबै खोल्सीमा कञ्चन पानी बगेको स्थानीयवासी बताउँछन् ।

“चुरे पहाडी शृङ्खलाबाट निस्केका सबैजसो सानाठूला खोल्सीमा यसपालि निर्मल पानी बगेको छ”, विगतमा माइस्थान गाविस छँदा गाविस अध्यक्ष रहेका  हाल बर्दिवास–५ गणन्ताका बासिन्दा ८५ वर्षीय धनबहादुर स्याङ्वा भन्छन्, “खासमा यसपालि लामो लकडाउनले वन क्षेत्रमा मानव चहलपहल नहुँदा वन्यजन्तु पनि रमाएका छन् ।”

बडादशैँ पर्वमा सधैँ उत्सव मनाइने देवी शक्तिपिठ यसपालि प्रकृतिले पनि रङ्गिएको बूढापाकाको टिप्पणी हुने गरेको छ । पञ्चधुरा माई मन्दिर परिसरको इनारमा यसपालि पानी भरिएर खोल्सीमा बगेको छ । तलाउभरि कमल फुलेका छन् । यसअघि पिउने पानीसमेत नपाएर ठाउँ छाडेका बाँदरसहितका अन्य वन्यजन्तु र चराचुरुङ्गीको कलरवले मन्दिर परिसरको सौन्दर्य उजेलिएको बर्दिवास–४ का वडाध्यक्ष दीपबहादुर कार्की बताउनुहुन्छ । चारैतिरका वनपाखा र वरपरको प्राकृतिक सौन्दर्य भरपूर भएको चुरे पहाडी शृङ्खला अवस्थित यहाँका धार्मिकस्थलको संरक्षणमा स्थानीय तहले थप पहलकदमी लिनुपर्ने नगरवासी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?