सिन्धुपाल्चोक । काठमाडौंबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको आज शिलान्यास भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज काठमाडौं र सिन्धुपाल्चाकको सिमाना नाङ्लेभारेमा सो सडकको शिलान्यास गरे ।
मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दूरीमा नै काठमाडौं पुग्न सकिने हुँदा मेलम्ची भेगका धेरै जनताले यही बाटो प्रयोग गर्दै आएका छन् । लामो समयसम्म मर्मत नहुँदा यो सडक जीर्ण भई दुर्घटनाको जोखिम बढेको थियो । सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । सो मार्ग प्रयोग गर्दा लाग्ने समयमा पनि कमी आउनेछ ।
नेकपा(एमाले)का तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निर्वाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अवधारणा विकास गरिएको हो ।
साँखु सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रवेशद्वार हो । साँखु –फड्केश्वर –बाहुनेपाटी सडक स्तरोन्नति हुँदा सिन्धुबासीलाई प्रत्यक्ष लाभ हुनेछ । १३ करोड ३२ लाखमा एक वर्षमा सडकको स्तरोन्नति सम्पन्न हुने सडक विभागले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया