कोरोना संक्रमण : प्रदेश १ मा थप ४११ जना संक्रमित

विराटनगर । थपिए, प्रदेश २ मा थप एकको मृत्यु र कर्णालीका हालसम्म तीन हजार २८० निको
प्रदेश १ मा आज सबैभन्दा बढी ४११ जना कोरोना संक्रमित थपिएका र विभिन्न स्थानबाट ४५८ जना डिस्चार्ज भएका छन् ।

थपिएका संक्रमितमा १५८ महिला र २५३ जना पुरुष रहेका छन् ।

थपिएका संक्रमितमा मोरङमा १७४ मध्ये विराटनगरमा १००, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा दुईदुई, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा एकएक जना र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमित रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको संख्या आठ हजार ८५७ पुगेको छ भने अहिलेसम्ममा चार हजार ६६२ जना निको भएर घर फर्किएका छन् पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ६६१ जना सहित अहिलेसम्ममा एक लाख ३२ हजार ३३१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा थप एकको मृत्यु

प्रदेश २मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने १६५ जना नयाँ संक्रमित थपिएका छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत धनुषाको शहीदनगर नगरपालिका–१ का ७० बर्षीय वृद्धको उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई यही असोज २० गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, सो अवधिमा ३१ महिलासहित १६५ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये धनुषामा २८ , पर्सामा ११, बारामा १४ , महोत्तरीमा सात , रौतहटमा १८ , सप्तरीमा २५ ,सर्लाहीमा १४ र सिरहामा ४८ जना नयाँ संक्रमित थपिएको हो । यस प्रदेशअन्तर्गतका क्वारेन्टाइनमा ९९ जना बसेका छन् भने आइसोलेसनमा ५१२ र होम आइसोलेसनमा ४७५ जना रहेका छन् ।

कर्णालीका हालसम्म तीन हजार २८० निको

मुलुकभर कोरोना भाइरसबाट संक्रमित हुने दर बढिरहेको छ । कर्णालीमा पनि क्रमभङ्ग हुन सकेको छैन । दैनिक संक्रमित बढ्ने र निको भएर फर्कने क्रम निर्वाध चलिरहेको छ ।
मुलुकभर कोरोनाबाट संक्रमणमुक्त हुने ७२ प्रतिशत पुग्दा कर्णाली आठ प्रतिशतले अगाडि छ । कर्णालीमा आजसम्म आइपुग्दा कोरोना भाइरस रोग लागेका ८० प्रतिशत व्यक्तिहरु संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न आइसोलेशनबाट आज मात्रै ५१ सङ्क्रमित निको भएर घर फर्केको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

“आज ५१ जना घर फिर्ता भएसँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार २८० पुगेको छ,” उनले भने, “यो कुल कोरोना संक्रमितहरुमा ७२ प्रतिशत हो । आज ६७ मा कोरोना संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमित हुनेको सङ्ख्या चार हजार १०४ पुगेको छ ।”

त्यस्तै, यस प्रदेशका विभिन्न आइसोलेसनमा ७१८ संक्रमित रहेको उनले बताए । मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९० पुग्दा कर्णालीमा १० जना (१.६९ प्रतिशत) जनाको मृत्यु भएको भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?