बिहे गर्न नमान्दा युवतीमाथि तातो घिउ

कञ्चनपुर, १ चैत्र । आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् ।भीमदत्त नगरपालिका–११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५, वनगाउँकी २३ वर्षीया सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् । उनले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरीरमा तातो घिउ खन्याइदिएका छन् ।तातो घिउले शरीरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ । महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पताल रिफर गरिएको छ । आँखा बढी सुन्निएकाले त्यहाँ पनि तत्काल उपचार हुन सकेन ।‘आज (बुधबार) सामान्य उपचार भयो, थप उपचारका लागि भोलि आउनू भनेको छ,’ गेटाबाट घर फर्किएकी पीडित सुनिताले भनिन्, ‘आँखा नखुलेका कारण उपचार हुन सकेन ।’ बुधबार बिहान सुनिता आँगनमा थिइन् । आमा जयन्ती खाना पकाउँदै थिइन् । अचानक आएका राकेशले ‘अस्ति कोसँग घुम्दै थिइस् ?’ भन्दै कुट्दै भित्र लगेको सुनिताले बताइन् ।‘त्यसपछि सुरुमै औंलाले आँखा घोचिदियो, म केही नदेख्ने भएँ,’ उनले भनिन्, ‘आमा छेक्न आउँदा उनलाई पनि कुटपिट गर्यो ।’सुनिताका अनुसार राकेशले ३ महिनाअघि पनि विवाह गर्न दबाब दिँदै कुटपिट गरेको थियो । त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा परिवारसहित बसेर मिलापत्र गरिएको उनले सुनाइन् । सुनिता र राकेशको परिचय २–३ वर्षअघि कम्प्युटर सिक्ने क्रममा भएको थियो ।राकेशले त्यही बेलादेखि आफूसँग बिहे गर्नुपर्छ भन्दै आएको उनले बताइन् । उनका अनुसार ३ महिनाअघिको घटनापछि राकेशले अर्कै युवतीसँग बिहे गरेको थियो । ‘अब म जे गरुँ, जोसँग घुमुँ, उसलाई के मतलब ?’ उनले भनिन्, ‘ममाथि हातपात गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ कान्तिपुरमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?