महोत्तरीको आधा दर्जन गाउँको वनमा निलगाई फेला

गौशाला, ३० फागुन – महोत्तरीको दक्षिण पश्चिम सीमावर्ती आधा दर्जन गाउँमा एक्कैसाथ १०० भन्दा बढी निलगाई फेला परेको छ ।भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँहरुमा १०० भन्दा बढीको संख्यामा दुर्लभ वन्यजन्तु निलगाई देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।स्थानीयले यसअघि कहिले नदेखिएको गाईजस्तो देखिने तर निलो रङको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि त्यसलाई देख्नका लागि स्थानीयवासीको ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताए ।ती निलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलकाहुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवेधश कापरले बताए ।सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वन नजिकको सबै बालीनाली नष्ट गर्न लागिपरेको छ ।करिब एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँको बालीनाली नष्ट पारिरहेको गैंढाभेटपुरका वीरेन्द्र यादवले बताए ।जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा पानीको स्रोतको अभाव, डढेलो र चोरी शिकारीजस्ता क्रियाकलाले तीव्रता पाएको कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?