अमेरिकाको लोभ देखाएर लेबनान

काठमाडौँ, २९ फागुन- आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्याथउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन्, आजको कान्तिपुरमा खबर छ  ।लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रूपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन । अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिँदैन, लामो कागजी झन्झट पूरा गरेर चर्को शुल्क बुझाउनुपर्छ । ‘नेपाली महिलाका लागि लेबनान न काम गर्न सहज छ न फर्किन नै,’ दूतावासका एक अधिकारीले भने ।‘लेबनान, युद्धग्रस्त सिरियासहित अन्य अफ्रिकी मुलुकमा पछिल्लो समय नेपाली महिला घरेलु कामदार अलपत्र पर्ने क्रम बढेको छ,’ इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले भने, ‘हामी लगातार उद्धारमा लागिरहेका छौं । यता पठाउनेहरूलाई पत्ता लगाएर कारबाही नगरेसम्म त्यो शृंखला रोकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?