कोरोनाबाट एकैदिन देशभर १९ को मृत्यु

कोरोना संक्रमणबाट शनिबार देशभर थप १९ जनाको मृत्यु पुष्टि भएको छ ।  पर्सा र महोत्तरीका तीन–तीन संक्रमितले ज्यान गुमाएका छन् ।
यसैगरी महोत्तरीकी ६२ वर्षीया महिलाको पाटन अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको छ । महोत्तरीकै दुई जनामा पनि मृत्युपछि कोरोना पुष्टि भएको छ ।
रौतहटको गम्हरिया–३ का ३० वर्षीय युवकको पनि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा शनिबार मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा बारा र मकवानपुरका दुई संक्रमितको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराकी ४९ वर्षीया महिलाको पनि शनिबार चितवन मेडिकल कलेजमै मृत्यु भएको छ ।
सिरहाको भदैया–६ का ८४ वर्षीय वृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार राति मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुषको शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।
नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिकाका–६ का ६५ वर्षीय पुरुषको शनिबार चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–२ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ । यस्तै, काठमाडौंका ५१ वर्षीया महिला र ८३ वर्षका पुरुष, ललितपुरका ७२ र ६१ वर्षका पुरुष र भक्तपुरकी ६२ वर्षीया महिलाको पनि संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?