काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।
भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो ।
प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताए । त्यस ठाउँमा भूकम्पपछि लगत्तै पहिरो गएको उल्लेख गर्दै उनले भने, ‘प्राधिकरणको नेतृत्वमा त्यती बेला अध्ययन भएको थियो । अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर क्याटागोरीमा देखायो । त्यसपछि फेरी प्राधकिरणले अध्ययन गर्दा बस्ती नै सार्न नपर्ने तर पर्खाल लगाएर केही सुधार गर्नुपर्ने देखिएको थियो । क्याटागोरी २ मा थियो । बस्ती नै सार्नुपर्ने भन्ने अवस्था थिएन ।’
पानीको उचित निकासका लागि स्थानीय सरकारले काम नै गर्न नसकेको उनले बताए । ‘लिदीमा पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गयो । पानीको निकास भएको भए पहिरो जाने थिएन । पानी फर्काएर खोल्सोमा पठाउने व्यवस्था स्थानीय सरकारले गरेको भए पहिरो जाने थिएन,’ उनले भने । नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरुको पहिरोको उच्च जोखिममा रहेको भएपनि लिदीको अवस्था त्यस्तो नभएको उहाँको भनाई छ । लिदीमा पहिरोले ३७ घर ध्वस्त पारेको छ । ठूलो जनधनको क्षती समेत गरेको छ ।
भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत १४ जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन । यस्तै ३१ जिल्लाहरु पहिरोको जोखिममा छन । प्राधिकरणले ४ हजार ८ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म ४ हजार १७६ बस्ती व्यवस्थापन भइसकेको भएपनि अझै ५ सय बस्ती जोखिममा रहेको उनले बताए।
पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रकृयामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
कोरोनाका कारण प्राधिकरणले निर्माण गरिरहेका नीजि आवास निर्माण तथा ऐतिहासिक सम्पदाहरुको निर्माणमा समस्या भएको बताए । आर्थिक वर्षको अन्तिमसम्म नीजि आवास निर्माणको सबै काम सम्पन्न गरिसक्ने योजना रहेपनि कोभिडका कारण अझै १२ प्रतिशत काम बाँकी रहेको बताए । सडक निर्माणको काम पनि एक वर्षपछि धकेलिएको उनले बताए । यस्तै धरहरामा ढलानको सबै काम सम्पन्न गर्ने योजना भएपनि कोभिडले केही ढिलाइ भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया