काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भजनी नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि मुख्यमन्त्री भट्टले हुलाकी सडकलाई व्यवस्थित रुपबाट पानी निकासी गर्ने, भजनी क्षेत्रमा रहेका नदीमा बृहत् तटबन्ध गर्ने र सामुदायिक उच्च भवन बनाउने बताए ।
मुख्यमन्त्री भट्टले वर्षेनी आउने बाढीको समस्याबाट नागरिकलाई छुट्कारा दिलाउन नदीमा बृहत् तटबन्धका लागि कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरिने बताए । ‘‘वर्षेनी सरकारले बाढी तथा कटान तटबन्धमा गरिएको लगानी खेर गएको छ । अब स्थायी समाधान खोजिनुपर्छ’’, मुख्यमन्त्री भट्टले भने, ‘‘हामी कैलालीमा सञ्चालित सिंचाइ आयोजनासँग यहाँ दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण तथा नदी नियन्त्रणका क्षेत्रमा काम गर्न आग्रह गर्छौँ । यहाँको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले काम थाल्छ ।’’
उनले वर्षात्मा हुने नदी कटान र उच्च वहाव भएर बस्तीमा पस्ने कार्य रोक्नका लागि आरसिसी ढलानसहितको तटबन्ध गरिने बताए । ‘‘विस्थापितलाई आवश्यक खाद्यान्न, लुगाकपडा र सुरक्षित बसाइबारे हामी गम्भीर छौँ’’, भट्टले भने , ‘‘प्रदेश सरकारले राहत प्याकेज ल्याउँछ ।’’
अवलोकनमा मुख्यमन्त्री भट्टसहित कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरी, संघीय सांसद गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य हरि चौधरी, सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरभान चौधरी र संविधानसभा सदस्य हरि श्रीपाइली, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीलगायतको सहभागिता थियो ।
भजनीमा यही साउन १४ गते आएको बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका छन् । विस्थापितमध्ये अधिकांश परिवार भजनी –१ स्थित मोहन्याल सामुदायिक वनमा पाल टाँगेर बसेका छन् ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया