एकै दिन १० जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा गरी एकै दिन १० जना मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका-८ दोभानस्थित माण्डु हाईड्रोपावरको पानी जम्मा गर्ने हेरोस बकेटमा बागमती खोलाले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका-८ कालापानीस्थित बुढीगंगा नदीको किनारामा हाल नाम, थर,वतन नखुलेकी अन्दाजी ३ वर्षीया बालिकाको शव मंगलबार फेला परेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित सामुदायिक भवनको प्रतिक्षालयमा सोही ठाउँ बस्ने २५ वर्षीय ईन्द्र बहादुर लम्तरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको भजनी नगरपालिका-७ चर्रा बस्ने ३६ वर्षीय अशोक पासी सोही ठाउँस्थित गणेशमान आधारभूत विद्यालयको नजिकै डुबान भएको स्थानमा माछा मार्न लगाएको पासोमा अल्झिएको अवस्थामा मृत फेला परेका छन् । सोमबार बेलुकी घरबाट बाहिर गएका उनी मंगलबार बिहान मृत फेला परेका हुन् ।

कन्चनपुरको बेलौरी नगरपालिका-४ बजार बस्ने ३८ वर्षीय जोगीराम चौधरी घरदेखिकरिब ५ सय मिटर टाढा खाडलमा जमेको पानीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका-५ बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीमगर सोही गाउँपालिका-५ सिम्रुत देखि जिवाङ जाने भित्री सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?