बुधवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । बुधवार काठमाडौं उपत्यकामा १५ जना संक्रमित थपिएका छन् ।

जसमध्ये १४ जना काठमाडौंका रहेका छन् भने १ जना भक्तपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जनार भक्तपुरका एक जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७ जनामा, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक जना र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जनामा गरेर काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (बुधवार) थप २१० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?