प्रकाशमानको टिप्पणी- ‘देउवाको कारण पार्टीको स्वास्थ्य ठिक भएन’ !

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन् ।

तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताएका हुन् । नेता सिंहले कुराकानीका क्रममा पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अफ्ठ्यारो अवस्थामा पुगेको बताए । उनले भने, ‘१३औं महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित हनुभयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरे अनुसार गर्नुपर्ने काम कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ ।’

नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए । उनले पार्टी प्राजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे । महाधिवेशनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनले बताए ।

पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भएपनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे बताए । उनले भने, ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य मान्यता विपरित जुन जवरजस्ती गरिराख्नु भएको छ यो अप्राजातान्त्रिक गति हो । यो ठिक भएन भन्ने कुरा हामीले भनिरहेका छौं । विभाग गठन गर्नेदेखि लिएर आउने महाधिवेशनका लागि प्रभावित गर्नेदेखि लिएर पद बाँडने जस्तो काम भयो । अर्कोतिर फेरी प्रक्रिया अगाडि बढेपछि यो अनुशासनको कारबाही गरेर के देखाउनुभएको छ भने म सँग बस्नेहरुलाई पद पनि दिन्छु तर जसले मलाई च्यालेन्ज गर्छ त्यसलाई मैले कारबाही गर्छु भन्ने जुन क्यारेट एण्ड स्ट्रिक भनेर भन्छ नी यो दण्ड दिने र मोह पनि देखाउने गरी आउने महाधिवेसनलाई प्रभावित गर्ने गतिविधि एउटा प्रजातान्त्रिक पार्टी भित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनुभएको छ । यो विलकुलै अप्राजातान्त्रिक छ यो ठिक छैन भन्ने कुरा हामी भनिरहेका छौं ।’

उनले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लागेको बताए । पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उनले बताए । उनले भने, ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनुपर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन ।’

नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताए । उनले भने, ‘नेतृत्वले समयको माग बमोजिम सबल नेतृत्व दिन नसकेको कारणले कांग्रेस सेटब्याक निर्वाचनमा भएको छ । अब यसलाई ओभरकम गर्नलाई हामीले के गर्नुप¥यो भन्दाखेरी १४ औं महाधिवेशनमा फेल भइसकेको नेतालाई फेरी दोहो¥याउनु हुँदैन ।’

२०४६ साल यताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको बताए । उनले भने, ‘विचारधारा राम्रो, स्ट्रगल राम्रो, डेलिभर गर्ने पनि हाम्रो राम्रो छ । तर पार्टीमा के भयो भन्दाखेरी २०४६ साल सम्म त पार्टी प्रतिवन्धित थियो । २०४६ सालमा जनआन्दोलन सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा बहुदलिय व्यवस्था पुनरबहाली भयो । प्रतिबन्धित बाट खुलामा आइसकेपछि नेपाली कांग्रेसको मैले देखेको डिफेक्ट के हो भन्दाखेरी जुन खुलापनमा पार्टीलाई अगाडि बढाउनको लागि कार्यकर्ताहरुलाई कसरी परिचालन गर्ने, कार्यकर्ताको जिम्मेवारी के हो जनतामा कसरी जाने भन्नेकुरामा ध्यान जानु भन्दा पनि बढी मूल्य र मान्यताको राजनीतिबाट पावर पोलिटिक्समा सत्ताको राजनीतिमा गएको कारणले गर्दाखेरी अहिले नेपाली कांग्रेस दुराअवस्थामा पुगेको छ ।’

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वको सरकारको औचित्य नरहेको समेत बताएका छन् । उनले राजनीतिक र वैधानिक रुपमा औचित्य समाप्त भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?