काठमाडौं उपत्यकामा मंगलवार थपिए यति धेरै संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जनालार्ई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका एक जना र काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ र ललितपुरका एक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ललितपुरका एक, स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका ६ र ललितपुरका दुई र नेपाल प्रहरी प्रयोगशाला अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (मंगलवार) थप ३११ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

नेपालमा हिजो (सोमवार) १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?