पहिरो प्रभावितलाई राहत वितरण

काठमाडौं । पहिरोले घरमा क्षति पुर्‍याएपछि विस्थापित बनेका बागलुङ नगरपालिका–५ का तीन परिवारलाई मालिका सेवा समाजले आज राहत रकम प्रदान गरेको छ ।

हेमराज उपाध्या, भागीरथ उपाध्या र टकमाया किसानको परिवारलाई जनही २५ हजारका दरले राहत दिइएको समाजका अध्यक्ष दुर्गाबहादुर कुँवरले जानकारी दिए ।

पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले विपद्मा परेका परिवारलाई सघाएकामा समाजको प्रशंसा गरे। राहत पाउने तीनै परिवार अहिले छिमेकीको आश्रयमा छन् ।

गत बुधबार गएको पहिराले त्यहाँका नौ घरपरिवार प्रभावित छन् । कैँयन घर पहिराको जोखिममा रहेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए । पहिराले धानबालीमा समेत क्षति पुर्‍याएको छ ।

आजै बागलुङ नगरपालिका–३ का पहिरो प्रभावित कृष्ण सार्कीलाई पनि विभिन्न व्यक्तिले खाद्यन्नलगायत सामग्री सहयोग गरेका छन् । अपाङ्गता भएका सार्कीको परिवार पनि पहिराको जोखिममा परेपछि विस्थापित अवस्थामा पुगेको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?