न्यूरोडमा दिनदहाडै गलाको सिक्रि लुछेर फरार श्रीमान् श्रीमतीसहित ४ प्रहरी नियन्त्रणमा

काठमाडौं । सुन चोरीको आरोपमा ३ सहित अन्य १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नरपालिका १४ का ३१ वर्षीय अकेश नकर्मी तथा उनकी श्रीमती नेहा शर्मा नकर्मी र नुवाकोट स्थायी घर भइ काठमाडौं नैकाप बस्ने २८ वर्षीय विक्कि मगर रहेका छन् । गत साउन ६ गते अपरान्ह सवा ४ बजेको समयमा कामनपा २३ स्थित झोसेको गल्लीमा बसन्तपुरकी २९ वर्षीया श्रुती शाक्यको गलामा लगाइरहेको ८ दशमलव ६४ ग्राम सुन स्न्याचिङ गरी लगेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख सुनिलजंग शाहले लोकपथलाई जानकारी दिए ।

अपरिचित व्यक्तिले आफ्नो गलामा राखेको सुन चोरी भएको भन्दै शाक्यले प्रहरीमा खबर गरेकी थिइन् । त्यहाँ सीसीटिभी फुटेज र उनले भनेको हुलियाको आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाँउहरुबाट पक्राउ गरिएको शाहले बताए । उनीहरुले सुन चोरी गरी कामनापा १६ डल्लुस्थित माँ हारती सुनचाँदी पसलमा १६ हजार ५ सयमा बिक्री गरेको थिए । प्रहरीले पसल सञ्चालक ६३ वर्षीय अशोक शाक्यलाई समेत नियन्त्रणमा लिइ चोरी भइ बिक्री भएको सुनसमेत बरामद गरिएको शाहले बताए ।

शाहका अनुसार ४ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?