काठमाडौं । निरन्तर परेको अविरल वर्षाका कारण त्रिशूली नदीमा बहाव बढेको छ । त्रिशुली नदीमा रहेका झोलुङ्गे पुलदेखि पक्की पुलहरु उच्च जोखिममा परेका छन् ।
त्रिशूली नदी बहाव बढेसँगै चितवनको भरतपुर महानगरपालिका–१, दासढुङ्गाको पक्की पुल उच्च जोखिममा परेको छ । पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ । गोरखा–धादिङ हुँदै बग्दै आएको बुढीगण्डकी नदी बेनिघाटमा मिसिएर शुरु हुने त्रिशुली नदी उर्लिएको हो ।

त्यस्तै भरतपुर महानगरपालिका–२९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकाले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ ।
त्रिशुली नदी उर्लिएसँगै चितवन, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।

बिहान ५ बजेदेखिको वर्षाको कारण मुग्लिन–नारायणघाट सडकखण्डमा मात्र एक दर्जनभन्दा बढी ठाउँमा पहिरो समेत गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नदी बहाव बढेसँगै चितवन र धादिङ जोड्ने मौवाखोला पुल नै बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी तथा त्यहाँको स्थानिय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रगरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया