महासङ्घलाई गुर्जो हस्तान्तरण

काठमाडौं । सुस्वास्थ्यका लागि बहुउपयोगी गुर्जो जातको तीन क्रेट विरुवा आज नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको छ । समाजसेवी कमलबहादुर राजलवटले आज महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई ती बेर्ना हस्तान्तरण गरेका हुन् ।

आन्तरिक राजश्व कार्यालय लहानमा कार्यरत राजलवटले गुर्जो हस्तान्तरण गर्दै यो बहुउपयोगी औषधि शुरुमा एकलाख बेर्ना वितरण गर्ने लक्ष्य भएता पनि अब आवश्यकता पर्नेलाई निःशुल्क वितरण गरिने बताए। रुघाखोकी, सबै प्रकारका ज्वरोलगायतका लागि उपयोगी रहेको भन्दै गुर्जो रोप्न मेहनत र लागत कम रहेको बताए । गुर्जो करेसाबारी, कौसी तथा घाम लाग्ने जुनसुकै स्थानमा रोप्न सकिने उनले जानकारी दिए।

स्वास्थ्यका लागि बहुउपयोगी गुर्जोका विरुवा निःशुल्क वितरण गर्ने अभियानमा लाग्नुभएका राजलवटलाई महासङ्घका अध्यक्ष आचार्यले धन्यवाद ज्ञापन गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?