भान्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ: ‘शवलाई बोरामा प्याक गरी सामान हो भन्दै फ्याँकेका थिए’

काठमाडौं । आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरी फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् ।

गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरेका थिए ।

अपहरण पश्चात जादु सिकाउँने बहानामा गोप्य कोठामा लगि दुवै हात पछाडी बाँधि रोहित चिच्याउन थालेपछि रुमालले मुख थुनि बालकको हत्या गरिएको थियो । बालकको हत्यापश्चात शवलाई बोरामा प्याक गरि भरियालाई खुद्रा सामान हो भन्दै कमलादी गणेस्थान नजिक सडकमा फ्यालिएको पुष्टि हुन आएको प्रहरीले जनाएको छ । त्यसपछि गुप्ताले मृतक बालकका बुबालाई समेत झुक्याइ प्रहरीकोमा समेत गएका थिए । उनी बालकको खोजतलासको बाहना बनाएर समेत हिँडेका थिए ।

रोहितका बुबा बासुदेवसँग अभियुक्तले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त भएका थिएनन् । बरु त्यसको ३ दिनपछि असोज २७ गते बालको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फेला परेको थियो ।

घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो भने उनी हालपनि कारागारमै रहेका छन् ।

उनलाई आइतवार काठमाडौं ल्याएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रहरीले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?