स्व खीमकुमारी रानाभाटको योगदान महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटकी माता स्व खीमकुमारी रानाभाटले नेपालको परिवर्तनका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेका बताएका छन् ।

स्व रानाभाटको ११औँ दिनको पूण्यतिथिमा आज रानाभाट निवासमा भएको श्रद्धाञ्जलिसभामा वरिष्ठ नेता पौडेलले पञ्चायतकालीन व्यवस्थामा कांग्रेसका नेतामात्र नभई अन्य पार्टीका नेताको पनि जमघटस्थल रानाभाट निवास भएको स्मरण गरे ।

पार्टीका महामन्त्री शशांक कोइरालाले स्व खीमकुमारीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताउँदै पञ्चायती निरङ्कुशताविरुद्ध उनको चेतनाले परिवर्तनको आन्दोलनलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरे ।

श्रद्धाञ्जलिसभामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, पार्टीका जिल्ला सभापति कृष्ण केसीलगायतले स्व रानाभाटको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

विसं १९७७ को विजयादशमीको दिन जन्मेकी खीमाकुमारीको एक सय वर्षको उमेरमा गत असार २३ गते स्वर्गारोहण भएको थियो । उनका तारानाथसहित खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र रानाभाट गरी चार छोरा एवं खीमादेवी र शोभाकुमारी दुई छोरी छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?