बाढी पहिरो पीडितहरुको व्यवस्थापन गर्न यस्तो रणनीति तयार गरिँदै

काठमाडौं । बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ । कोरोना संक्रमणको जोखिमसँगै मनसुन शुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु-याएपछि प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो बताएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनले बताए ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । घटनामा २६ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?