पहिरोले लियो ६ महिने शिशुको ज्यान, आमा गम्भिर घाइते

काठमाडौं । डोटीमा तीन दिनदेखि आएको अविरल वर्षासँगै आएको पहिरोका कारण ६ महिने शिशुको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् । डोटी जिल्लाको र्वीचौकी गाउँपालिका ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर मृत्यु भएको हो ।

मृतक शिशुकी आमा २५ वर्षीया देवा नेपाली पहिरोमा परी गम्भिर घाइते भएकी र उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । साथै, मृतक बालकको शव पोष्टमार्टम गरी आफन्तका जिम्मा लगाइको छ ।

पहिरो आए पछि घर भित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना थिए, पहिरो आएपछि सबै भाग्दा नवजात शिशु बोकेर भाग्न नसकेपछि शिशुको मृत्यु भएको र आमा घाइते भएकी प्रहरीले बताएको छ ।  बाँकी अरु परीवारका सदस्य भने भागेर बाँच्न सफल भएका हुन् ।

पहिरोले घरभित्रको सबै सरसमान पूर्णरूपमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?