नेपालमा कोरोना अपडेटः थप २ सय ३२ जनामा कोरोना संक्रमण, कहाँ कति थपिए ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा भएको परीक्षणमा ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा भएको परीक्षणमा १५ जना, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा भएको परीक्षणमा १३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा भएको परीक्षणमा ५ जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा ७ जना र दैलेखमा प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

पीसीआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण भएको छ । सार्कराष्ट्रमध्ये मध्ये कोरोना परीक्षण दर प्रति १० लाखमा भारत श्रीलंका पाकिस्तान भन्दा नेपाल अगाडी रहेको उनले बताए ।

अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ३३ हजार १ सय २५ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेसनहरुमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ । शनिबार २ सय ७१ जनासँगै आजसम्म ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टाइनमा बसेका थिए । १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो ।

उनी मधुमेहका दिर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो । असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ११ जिल्ला

  • महोत्तरी
  • रौतहट
  • सर्लाही
  • कपिलवस्तु
  • पाल्पा
  • दैलेख
  • कैलाली
  • अछाम
  • डोटी
  • बाजुरा

कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा आज (शनिवार) एकैपटक २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.  गौतमले नेपालमा बितेको २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १  :                     ६८६ जना
प्रदेश २  :                     ४०८३ जना
वागमती प्रदेश  :           ५२५ जना
गण्डकी प्रदेश  :            ११३३ जना
प्रदेश ५  :                     ३९४२ जना
कर्णाली प्रदेश  :            १५४० जना
सुदूरपश्चिम प्रदेश :        ३५८२ जना

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?