काठमाडौं । भदौ १० को रसुवास्थित भोटेकोशीमा आएको बाढी प्रभावित नागरिकहरुलाई सरकारले तत्कालका लागि रुपमा खर्च उपलब्ध गराउने भएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थायी आवास निर्माण नभएसम्मका लागि सरकारले मासिक १५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्चका लागि ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार उपलब्ध गराइनेछ । यसैगरी ४ जना भन्दा बढी सदस्य भएका परिवारका लागि थप प्रत्येक सदस्यका लागि सरकारले अतिरिक्त २ हजारका दरले मासिक रकम उपलब्ध गराउने भएको हो ।
‘गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक रु. १५,००० र थप प्रत्येक सदस्यका लागि रु. २,००० अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ,’ उनले भने ।
यदी कुनै परिवारले उक्त सुविधा लिन नचाहेको खण्डमा सरकारले स्थायी आवासको व्यवस्था नभएसम्मका लागि अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत उपलब्ध गराएको छ । यसका लागि आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकेको मन्त्री तिमिल्सिनाले बताए ।
‘यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा, सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको छ । यस सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको छ,’ उनले भनेका छन् ।
बाढी प्रभावित रसुवा–नुवाकोट लगायतका जिल्लाका प्रभावित नागरिकहरुका लागि उद्धार, राहत र पुनस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया