नेकपा स्थायी कमिटी बैठक बस्दै, यसकारण ‘महत्वपूर्ण’ हुनेछ आजको निर्णय

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । केहिबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मूख्यत मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे छलफल हुनेछ । लामो समयदेखि एमसीसी बारे सत्तारुढ नेकपाले निर्णय गर्न नसक्दा यसबारेको अन्योलता बढेको छ । नेकपा भित्रै पनि एमसीसीलाई लिएर तिव्र विवाद छ । त्यसैले यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।

आजको बैठकका लागि हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल समेत भएको थियो ।

ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।

सत्तारुढ नेकपाभित्र एमसीसीलाई संशोधन नगरी पारित गर्न नहुने एकथरीको मत छ भने अर्कोथरीको मत छ जस्ताको तस्तै पास हुनुपर्छ ।

त्यसैले आज बसेको स्थायी कमिटी बैठकमा बहुमतले एमसीसी सम्झौतालाई अस्वीकृत गर्ने सम्भावना बढेको छ । र, आज आएको निर्णय निकै निर्णायक हुने एक नेताले लोकपथलाई बताए ।

उनले भने, ”यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्नेहुन्छ । हेरौँ ।”

एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदैछ सोही दिन दिउँसो संसद बैठक बस्दैछ ।

त्यहि बैठकको लागि पनि आजको छलफल निकै महत्वपूर्ण हुनेछ ।

आगामी असार १७ गते संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निस्क्रिय हुनेछ । यससँगै नेपाललाई अमेरिकाले दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिनेछ । अहिले सिंगो  देश एमसीसीको विषयलाई लिएर पुरै विभाजित देखिएको छ । (फाईल फोटो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?