ओलीमाथि आइलाग्यो आपत, बामदेवले गरे एमसीसीमा समर्थन नरहेको घोषणा

काठमाडौं । कुनै पनि हालतमा विवादास्पद एमसीसी पास गर्ने रणनीतिमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो धक्का लाग्ने देखिएको छ। आफूले बलियो साथको अपेक्षा गरेका सत्तारुढ दलका उपाध्यक्ष बामदेव गौतमले आफ्नो समर्थन नरहेको घोषणा गरेपछि उनलाई धक्का लागेको हो ।

गौतमले आफ्नो सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणी सुवेदीमार्फत यस्तो घोषणा गरेका हुन् । सुवेदीमार्फत गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै पार्टीभित्रको अन्तरविरोध र मुख्य मुद्दाहरुमा आफ्नो ‘पोजिसन’ स्पष्ट पारेका हुन् ।

उक्त प्रस्टीकरणमा गौतम सरकारमा जाने हल्ला पूर्णत निराधार रहेको उल्लेख छ । त्यसैगरी उनले सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा चित्रित गर्ने क्रम बन्द गर्न पनि ओलीपक्षधरलाई चेतावनी दिएका छन् ।

केही कुरा स्पष्ट पारिएको छ :

१. क. वामदेव गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार हो । सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस् । (संसोधित नक्सा जारी गर्ने एजेण्डा नै उहाँको थियो । हामीले यसअघि नै प्रेस नोटबाट यो कुराको जानकारी दियौं ) ।

२. क. केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । क. वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । क. वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।

३. उहाँ अझै केही समय सार्वजनिक प्रतिक्रियामा आउनुहुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?