फोन गरेको गर्‍यै किसानः खेती गर्ने बेला भयो मल छैन !

सर्लाही । जिल्लामा धान रोप्ने समयमा मल अभाव भएको छ । रोपाइँका लागि खेतमा ब्याड तयार भए पनि सहज रुपमा मल उपलब्ध हुन सकेको छैन् ।

केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएको किसानले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्रीवितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ ।

ब्याडका लागि बीउ छर्नुभन्दा अगाडि डिएपी मल खेतमा हाल्ने गरेका किसान धान रोप्ने समयसम्म पनि मल नपाउँदा थप चिन्तित बनेका छन् ।

‘बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन सकेन’, हरिवन–२ अत्रौलीका रामपुकार महतो गुनासो गर्छन् । भारतबाट ल्याउन जाँदा लकडाउनका कारण प्रहरीले जान दिँदैन । अरु वर्ष नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्ने गरेको तर यस वर्ष कुनै उपाय नभएको किसानको भनाइ छ ।

जिल्लामा अहिले मलको अभाव रहेको कृषि सामग्री संस्थानका प्रमुख बज्रमणि लामाले बताए । धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्ने गरेको भए पनि लकडाउनका कारण मल ल्याउन नपाउँदा किसान मारमा परेको लामाको भनाइ छ । अहिले संस्थानमा करीब १५० मेट्रिक टन डिएपी र दुई ट्रक युरिया बाँकी रहेको उनी बताउँछन् । अहिलेलाई डिएपीको माग बढ्दो र गोदाममा भएको मलले एक दुई गाउँलाई पनि नपुग्ने भएकाले माग गरिएको लामाले बताए । रोपाइँ भइसकेपछि साउनतिर युरिया चाहिन्छ ।

केही दिन अगाडि आएको मल मकै खेतीका लागि किसानले लिएर गएको र अहिले धान खेतीको समय भए पनि गोदाममा मल नभएको तर किसानले मलका लागि फोन गरेको गर्‍यै छन् । यही असार १ गतेदेखि मल सहकारीमार्फत बिक्रीवितरण गर्ने तयारी भए पनि संस्थानमा मल नै नभएर बिक्रीवितरण गर्न नसकिएको प्रमुख लामाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?