लागुऔषध बेच्दै गर्दा ३ जनालाई यसरी पक्रियो प्रहरीले

काठमाडौं-  प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मङ्गलबार एक महिलासहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले गैँडाकोट–१० का २७ वर्षीय धनबहादुर कुमाल, गैँडाकोट–१० कै ३० वर्षीय राजकुमार ताम्राकार र गैँडाकोट १२ की २३ वर्षीया सविता पाठकलाई पक्राउ गरेको जानकारी दिए ।

प्रतिबन्धित लागुऔषध डाइजापाम, फेनारगन, ब्रुनर्फिन बिक्री वितरण गरिरहेको ठाउँबाट १९ थान लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित रु. १९ हजार २०० समेत बरामद भएको थापाले बताए।

गैँडाकोट प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?