कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक बजेटबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारले कोभिड–१९ को महामारीबाट सिर्जित समस्याको प्रभावकारी समाधान गर्ने गरी स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकता राखेर बजेट आएको जनाएको छ भने विपक्षी दलले सरकारले कोरोनासँग जुध्ने र धराशायी अर्थतन्त्रलाई पुनःस्थापना गर्ने गरी बजेट आउन नसकेको टिप्पणी गरेका छन् ।
प्रदेसभामा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना केन्द्रित बजेटका लागि पार्टीले सुझाव दिए पनि सरकारले अहिलको गाम्भीर्यलाई महसुस गर्न नसकेको बताए । उनले भने,“अहिलेको आवश्यकता कहाँ कति वटा धारा, पानी, कुलो भन्दा पनि यो प्रदेशको प्रत्येक परिवारको एक महिनाभित्र पिसिआर परीक्षण गर्न सक्छौँ भन्नुपथ्र्यो, कोरोनाबाट प्रभावित विदेशबाट आउने जनसङ्ख्या र क्वारेन्टिनमा बसेकाहरुलाई अहिलेको दुरवस्थाबाट मुक्त गछौँ भनेर समयसीमासहित कोरोना फाइट गर्ने कुरालाई प्राथमिकता दिनुपर्नेमा परम्परागत रुपमा ठूलाठूला आयोजनाहरु खर्च नहुने तर देखिने गरी निरन्तर भएको छ ।”
बजेट प्रस्तुति परम्परागत भएको र प्रदेशको अर्थतन्त्र धराशायी अवस्थामा गएकामा त्यसलाई मूल्याङ्कन गरी पुनःस्थापना गर्ने गरी बजेट कार्यक्रम नआएको नेता नेपालीको टिप्पणी थियो ।
सत्तारुढ नेकपा संसदीय दलका सचेतक गायत्री गुरुङले कोभिड–१९ को महामारीको अहिलेको अवस्थाबाट जनतालाई बचाउने र सुखी नेपाली समृद्ध नेपाल निर्माणको स्पष्ट योजनासहित बजेट आएको बताउनुभयो । सचेतक गुरुङले भनिन्,“कोभिड–१९ बाट प्रदेशवासीलाई बचाउन बजेटमा स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिइएको छ । पुराना योजनालाई निरन्तरता दिँदै विकास र समृद्धिमा पुग्ने र रोजगारी सिर्जना गर्ने खाकासहित बजेट आएको छ ।”
महिला, दलित, आदिवासी जनजाति तथा शहीद परिवारलाई समेत सीपमूलक र राहतका कार्यक्रम बजेटमा समावेश भएकाले सबै क्षेत्रलाई समेटिएको सचेतक गुरुङको भनाइ छ ।
जनता समाजवादी पार्टीका दलका नेता हरिशरण आचार्यले सरकारले योजना निर्माण गरे पनि त्यसको कार्यान्वयन गर्ने कुनै निकाय र जनशक्ति व्यवस्थापनको संरचना बनाउन तयार नहुँदा बजेट कार्यान्वयन हुने र खर्च हुन नसक्ने अवस्थाले निरन्तरता पाएको बताए ।
हालको कोभिड–१९ को अवस्थामा बजेटलाई कार्यान्वयन गर्ने कुनै पनि अवयव चुस्त र व्यवस्थित नभएको टिप्पणी गर्दै उनले भने,“बजेट कार्यक्रम शब्दमा प्रभावकारी र मिठास बनाउने तर कार्यान्वयन फितलो हुने खालको छ, अनुत्पादक क्षेत्रका सबै बजेट कटौती गरेर उत्पादन क्षमता अभिवृद्धि गर्नका लगानी गर्ने भनिए पनि आठ/दश करोड बजेटले कसरी उत्पादन वृद्धि गर्न सकिन्छ ?”
राष्ट्रिय जनमोर्चाका पियारी थापाले बजेट जनताको जीवनस्तर सुधारका लागि विगतका कार्यक्रमलाई सुधार गरेर आउन नसकेको बताउँदै आफ्नो आलोचनात्मक समर्थन रहेको बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया