नेपालमा कोरोना अपडेट : थप २ जनाको मृत्यु, संक्रमित ५ हजार ३३५ पुगे (विवरणसहित)

काठमाडौं-  नेपालमा आज थप २ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मृतक २ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यसैबीच नेपालमा आज शनिवार एकैपटक थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । जसमध्ये पुरुष संक्रमित ४ हजार ९४९ जना छन् भने महिला संक्रमित ३ सय ८६ जना छन् । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा हिजो शुक्रवार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनका अनुसार गत २४ घण्टा यता पुष्टि भएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमणपश्चात् निको भई घर फर्किनेको संख्या नेपालमा ९१३ पुगेको छ । यसरी संक्रमणमुक्त हुनेमध्ये ८२२ पुरुष र ९१ महिला महिला छन् ।

आज मात्रै नेपालमा ३६ जनाले कोरोना विरुद्धको लडाई जितेर घर फर्किएका छन् ।

यो संक्रमण नेपालका ७२ वटा जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

मृतक कहाँका हुन् ?

नेपालमा कोरोना भाइरसको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षीय बालक र पर्साका अन्दाजी २५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रवक्ता डा. गौतमका अनुसार लामो समयदेखि ज्वरो र निमोनियाले ग्रसित बालकलाई स्थानीय क्लिनकमा औषधि उपचार गरिँदै आएको भए पनि उच्च ज्वरो आएपछि हिजो हेल्थ केयर अस्पताल पुर्याइएको थियो । उनको आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएको र पछि पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । ती ५ वर्षीय बालकको हिजो साँझ निधन भएको थियो ।

पर्साका अर्का पुरुष पर्साको वीरगञ्जस्थित घण्टाघरमा वेवारिसे अवस्थामा उनको शव फेला परेको थियो । उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको गौतमले बताए ।

कति भयो जाँच ? 

नेपालमा गत २४ घण्टामा मात्रै ५ हजार ६ सय ६१ र हालसम्म १ लाख २७ हजार २ सय ८८ वटा पिसिआर विधीबाट जाँच गरिएको छ । आरडिटी विधिबाट हालसम्म १ लाख ९० हजार ५ सय ८२ छ भने गत २४ घण्टामा मात्रै २ हजार ५ सय ३० वटा जाँच गरिएको छ ।

कति छन् आईसोलेसनमा ? 

हाल ४ हजार ४ सय ४ जना आईसोलेसनमा रहेका छन् । देशका विभिन्न स्थानमा भएका क्वारेन्टाईनमा १ लाख ५० हजार ५ सय ४९ जना बसिरहेका छन् ।

निको हुनेहरुको विवरण यस्तो छ

नेपालमा थप ३६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ९ सय १३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज नारायणी अस्पताल पर्साबाट ५ जना पुरुष डिस्चार्ज भएका छन् । उनका अनुसार सप्तरीमा १७ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।

त्यस्तै, बाँकेमा ८ जना पुरुषले कोरोना जितेका छन् ।  भरतपुर अस्पताल चितवनबाट पनि ३ जना पुरुष डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।

कुल डिस्चार्ज भएका ९ सय १३ जना मध्ये ८ सय २२ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

 

कर्णालीमा पुगे ९१६ कोरोना संक्रमित, दैलेखमा मात्रै ५०२ जना 

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय नाघेको छ ।

शनिवार सुर्खेतका ४० जना र दैलेखका ३० जना गरी जम्मा नयाँ संक्रमित ७० जना कोरोना संक्रमित थपिएका हुन् । योसंगै हालसम्म कर्णाली प्रदेशमा जम्मा कोरोना पुष्टि भएको संख्या ९ सय १६ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

शनिवार थपिएका ७० जनाको परिक्षण प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको थियो ।

मन्त्रालयका अनुसार शनिवार नयाँ संक्रमण पुष्टि हुनेहरू सुर्खेतका ४० जना रहेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका १० जना, बराहताल गाउँपालिकाका ९ जना, चौकुने गाउँपालिकाका ८ जना र वीरेन्द्रनगर नगरपालिकाका १ जना रहेका छन् । भने दैलेखका ३० जना संक्रमित थपिएका छन् । दैलेखको आठबीस नगरपालिकाका २० जना, नौमुले गाउँपालिकाका ९ जना र डुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन् ।

९१ जना निको भएर घर फर्किए

कर्णालीमा हालसम्म ९१ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिवार दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएसंगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको हो ।

कर्णाली प्रदेशमा हालसम्म कोभिड(१९ को संक्रमण पुष्टि भएका ३ जनाको ज्यान गइसकेको छ ।

दैलेखमा मात्रै ५ सय २ संक्रमित

कर्णालीमा हालसम्मको जम्मा ९१६ मध्ये दैलेखमा आधाभन्दा बढि संक्रमित देखिएका छन् । मन्त्रालयका अनुसार दैलेखमा ५०२ जना कोरोना संक्रमित रहेका छन् । सुर्खेतमा १९७ जना, सल्यानमा १३७ जना, कालिकोटमा २८ जना, जुम्लामा २४ जना, जाजरकोटमा ८ जना, मुगुमा २ जना, हुम्लामा १ जना, डोल्पामा १ जना र अन्य प्रदेशका बासिन्दाको संख्या १६ जना रहेको छ ।

यो पनि पढ्नुहोस् :
महिला शक्तिसँग हार्‍यो कोरोना ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?