काठमाडौंको लगनचोकमा आगलागीः एक वृद्धाको जलेर मृत्यु

काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नं. १२ लगनमा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा एक वृद्धाको मृत्यु भएको छ भने दुईवटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परि ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको हो । उनका छोरा प्रविण जलेर घाइते भएका छन् । लगन चोकमा रहेको अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा शनिबार बिहान ३ः३० बजेतिर आगलागी भएको हो । रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार बस्दै आएको थियो । जीवनकाजी प्यारालाइसिसको समस्याबाट पीडित थिए । घरमा आगो लागेपछि बुवालाई बाहिर निकाल्ने कोशिस गरे पनि नसकेको छोरा प्रविणले बताए । प्रविणको वीर अस्पतालमा उपचार भइरहेको छ । आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुले भने, ‘जीवनकाजीको शव एकदम मुस्किलले फेला पायौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?