बैंकको ब्याज महँगो भयो, घटाइयोस्ः सांसद आचार्य

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बैंकले प्रवाह गर्ने ऋणको ब्याजदर महँगो भएको भन्दै घटाइनुपर्नेमा जोड दिएका छन् । विदेशी मुलुकमा उत्पादनमुलक क्षेत्रका लागि ब्याजदर ५ प्रतिशत भन्दा कम रहेको भएपनि नेपालमा ब्याजदर धेरै महँगो भएको उनको भनाइ छ ।

आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले यसका लागि राज्यले बैंकलाई पनि राहत दिनेगरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

यस्तै आर्थिक संकटबारे जुध्न उपयुक्त योजना बनाउनु जरुरी रहेको भन्दै उनले वैदेशिक रोजगारीमा गएका नेपालीबारे पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको बताए ।

“भ्यासिक्सन बेगर कोरोनाभाइरसको रोकथाम हुँदैन । यसले ल्याउने चुनौतिहरु भोलिका लागि धेरै अप्ठ्यारा छन् । विदेशमा बसेका नेपालीको दुख एक ठाउँमा छ । उनीहरुलाई विश्व संगनको मापदण्डअनुसार नेपाल ल्याउनुपर्छ”, विदेसिएर नेपाल आउन चाहनेलाई सरकारले फर्काउनुपर्नेमा जोड दिँदै उनले भने ।

उनले वैदेशिक रोजगारमा गएका नेपालीहरु छिट्टै रोजगारी गुमाएर आर्थिक संकटमा पर्ने खतरा रहेको भन्दै राज्यले बेलैमा सही नीति लिनुपर्नेमा पनि जोड दिए ।

यस्तै उनले कृषि, पर्यटन, हाइड्रोपावर जस्ता क्षेत्रमा उचित लगानी हुनुपर्ने र राज्यले छनोट गरेको योजना उचित पनि हनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?