कैलालीमा हजारौँलाई राहत वितरण

काठमाडौं । कैलालीका स्थानीय तहले हजारौँ परिवारलाई राहत वितरण गरेका छन् । स्थानीय तहले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका समयमा छाक टार्न समस्या भएका परिवारलाई राहत वितरण गरेका हुन् । स्थानीय तहले विपन्न, असहाय, ज्यालादारी गर्ने मजदुर, भाडामा बसेका विद्यार्थीलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराएका हुन् ।

कैलालीको टीकापुर नगरपालिकाले सात हजार ४७ परिवारलाई राहत वितरण गरेको छ । “कोभिड–१९ सङ्क्रमण बढेपछि लकडाउन हुँदा छाक टार्न समस्या भएका परिवारलाई राहत उपलब्ध गराएका हौँ”, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, “टीकापुर शहर भएकाले यहाँ बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका भाडामा बस्ने विद्यार्थीसमेत थिए । समस्यामा रहेका विद्यार्थीलाई समेत राहत उपलब्ध गराएका छौँ ।”

टीकापुरको वडा नं १ मा मात्रै चार हजार ७८१ परिवारलाई राहत उपलब्ध गराएको छ । नगरपालिकाको वडा नं २ मा ६१०, ३ मा २३२, ४ मा २१८ परिवारले राहत पाएका छन् । त्यस्तै वडा नं ५ मा ३१८, ६ मा ३४५, ७ मा २३५, ८ मा १६३ र ९ मा १४५ परिवारले राहत पाएका छन् । नगरपालिकाले राहतमा चामल, दाल, तेल, नुन, साबुन वितरण गरेको थियो ।

त्यस्तै, जानकी गाउँपालिकाले पनि दुई हजार ५६४ परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले परिवार सङ्ख्यालाई आधार मानेर तीन वर्गमा विभाजन गरी राहत वितरण गरेको हो । गाउँपालिकाले छुटेका परिवारलाई अनुगमनमार्फत राहत वितरण जारी राखेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए । “हामीले परिवार सङ्ख्याका आधारमा खाद्यान्न वितरण गरेका छौँ”, अध्यक्ष चौधरी भन्नुहुन्छ, “यस्तो महाविपत्तिमा कोही भोकै बस्नु नपरोस् भन्ने सरकारको चाहना हो ।”

जानकी गाउँपालिकाले यतिखेर राहतस्वरुप जमिन भएका किसानलाई धानको बीउ र मलखादसमेत वितरण गरेको छ । “हाम्रो पालिकामा कृषिकर्म गर्ने किसान धेरै छन्, सबै किसानलाई ७५ प्रतिशत अनुदानमा राहतस्वरुप बीउ वितरण थालेका छौँ”, अध्यक्ष चौधरीले भन्नुभयो, “राहलमा खाद्यान्न दिनुभन्दा खेतीमा प्रोत्साहन गरौँ भन्ने सल्लाहपछि कृषिमा लगानी बढाउन थालेका हौँ ।”

उता, कैलालीको जोशीपुर गाउँपालिकाले पनि एक हजार ८०० परिवारलाई राहत दिएको छ । गाउँपालिकाले पहिलो चरणमा एक हजार ८०० परिवारलाई राहत उपलब्ध गराएको वडा नं १ का वडाध्यक्ष विधिराम चौधरीले जानकारी दिए।

“पहिलो चरणमा मुक्तकमैया र मजदुरी गरेर खाने परिवारलाई राहत दिएका छौँ”, अध्यक्ष चौधरीले भने, “केही दिनमै दोस्रो चरणअन्तर्गत समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराउने तयारी भएको छ ।” दोस्रो चरणमा करिब एक हजार ५०० परिवारलाई राहत उपलब्ध गराइने भएको छ । गाउँपालिकाले राहतमा २५ केजी चामल, दुई केजी दाल, एक केजी नुन र साबुन उपलब्ध गराएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?