काठमाडौं । फेदीखोला गाउँपालिकाले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि आफ्नो स्वास्थ्यप्रति चिन्तित बनेका स्थानीयवासीमा भने यतिबेला खुशी छाएको छ ।
दीर्घरोगी एवं नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले घरघरमै औषधि पुर्याउन थालेपछि लकडाउनका कारण अस्पताल जान नपाएर समस्यामा परेका स्थानीयवासी गाउँपालिकाबाट घरमै आएर औषधि दिन थालेपछि खुशी भएका छन् ।
मिर्गौलामा आएको समस्याका कारण नियमितरूपमा औषधि सेवन गर्दै आएकी फेदीखोला गाउँपालिका–२ का २७ वर्षीया सम्झना केसी लकडउनको शुरुमा समस्यामा परे पनि अहिले भने खुशी भएकी छिन् । केसीले भनिन्, “मैले मिर्गौलाको प्रत्यारोपण गरेको हुनाले नियमित औषधि खानुपर्ने हुन्छ । सरकारले लकडाउन घोषणा गरेसँगै औषधि किन्नका लागि समस्या भएको थियो, अहिले गाउँपालिकाले नै स्वास्थ्य परीक्षण र औषधि लिनका लागि काठमाडौं जानेआउने व्यवस्था मिलाएको छ । गाउँपालिकाको यो कामबाट म निकै खुशी छु ।”
विगत चार÷पाँच वर्षदेखि मिर्गौलाको समस्या झेल्दै आउनुभएकी केसीले भनिन्, “महिनामा रु २० हजारभन्दा बढीको औषधि खानुपर्छ । काठमाडौं बाहिर किन्दा १० दिनको औषधिलाई नै रु १४ हजार लिने गरेकाले औषधिका लागि काठमाडौं नै पुग्नुपर्ने बाध्यता रहेको बताए । गाउँपालिकाले लकडाउनको बेलामा ठूलो सहयोग गरेको बताउँदै नियमित औषधि सेवन गर्नुपर्ने भएकाले औषधिका लागि पनि केही सहयोगको अपेक्षा गरेको बताए ।
यसैगरी नियमित औषधि खाँदै आउनुभएका फेदीखोला–४ का कृष्णप्रसाद पौडेलले गाउँपालिकाले घरमै औषधि ल्याएर दिने गरेकामा खुशी लागेको बताए । कृष्णप्रसादका छोरा प्रदीपले भने, “बुवालाई नियमित औषधि खानुपर्ने हुन्छ, यस्तो लकडाउनका बेलामा पनि गाउँपालिकाले स्थानीय जनताको समस्या बुझेर घरमै आएर औषधि दिने व्यवस्था मिलाएकामा हामीलाई धेरै खुशी लागेको छ ।” अहिले औषधिको कुनै पनि समस्या झेल्न नपरेको पौडेलले बताए ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण नियमित औषधि खानुपर्ने बिरामीका लागि समस्या नहोस् भनेर घरघरमा औषधि पुर्याउने व्यवस्था मिलाएको बताए । गाउँपालिकाले औषधि व्यवस्थापनका लागि तीन सदस्यीय समिति बनाएर नियमित औषधि सेवन गनुपर्ने बिरामीको तथ्याङ्क सङ्कलन गरेरे आवश्यकताका आधारमा औषधि खरिद गरेर घरघरमा पुर्याउने गरेको समितिका सदस्य सुजन पोखरेलले बताए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया