घरघरमा औषधि

पोखरा । पोखरा महानगरपालिका–२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ ।

सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पु¥याइएको हो ।

वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी कूल रु दुई लाख ५० हजार खर्चेर उनीहरूलाई घरघरमा पुगी औषधि वितरण गरिएको हो ।

वडा सदस्य भीमप्रसाद बाँस्तोलाले आगामी दिनमा पनि नियमित औषधि खानेमध्ये छुट बिरामीको तथ्याङ्क लिइ पुनः औषधि घरघरमा पु¥याउने बताए।

प्याराग्लाइडिङमा आवद्ध मजदुरलाई राहत

प्याराग्लाइडिङ व्यवसायीको छाता सङ्गठन नेपाल हवाई खेलकूद सङ्घ (एनएए) तथा कर्मफ्लाइट्स फाउण्डेशन नेपालको संयुक्त प्रयास र पोखरा महानगरपालिका–१८ कार्यालयको संयोजनमा उक्त खेलसँग आवद्ध ५८ मजदुरलाई राहत वितरण गरिएको छ ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्याराग्लाइडिङ टेक अफ र ल्याण्डिङ साइटमा प्याकिङको काम गरेर जीविकोपार्जन गर्ने मजदुरलाई लक्षित गरेर पोखरा–१८ खपौंदीका ३१ र सराङकोटका २८ मजदुरलाई सोही स्थानमा लगेर राहत वितरण गरिएको जानकारी दिए।

राहत वितरण कार्यक्रममा पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा, कर्मफ्लाइट्सका अध्यक्ष भुपालसिंह गुरुङलगायतको उपस्थिति थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?