स्वास्थ्य मन्त्रालयले भन्यो – औषधिको मूल्य बढेको छैन, आफूखुसी बढाए कारवाही गर्छौं

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धि नभएको जानकारी दिँदै यदि कसैले आफूखुसी बढाए कारबाही गर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा औषधिको मूल्य बढ्नुपर्ने कारण नभएको बताउँदै उनले भने – “औषधिको मूल्य बढेको गुनासो आएका छन्। बजारमा औषधिको बिक्री वितरणबारे अनुगमन भइरहेको छ,औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण छैन, बढाएको पाइएमा कडा कारवाही हुनेछ।”

यसैबीच हालसम्म नेपालमा संक्रमित भएका ४८ जनामध्ये १० जना निको भएर घर फर्केका छन् भने बाँकी ३८ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म पिसिआर विधीमार्फत् कुल ९ हजार ४ सय ७ वटा परीक्षण सम्पन्न भएको छ ।  त्यस्तै आरडिटी विधीमार्फत् ३८ हजार ८९ वटा परीक्षण सम्पन्न भएको छ । यसरी हालसम्म नेपालमा पिसीआर र आरडिटी दुवै विधीमार्फत् ४७ हजार ४ सय ९६ वटा परीक्षण सम्पन्न भएको छ । गत २४ घण्टामा मात्रै ३ हजार ७ सय ९१ वटा नयाँ परिक्षण भएको मन्त्रालयलले जनाएको छ ।

हालसम्मको विवरण अनुसार प्रदेश नमबर १ मा ३ हजार ९ सय २९ वटा आरडिटी परिक्षण भएको छ । प्रदेश २ मा ४ हजार ९ सय १७ वटा, बागमति प्रदेशमा ७ हजार १ सय ४३ वटा परीक्षण भएको छ । गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३ वटा परीक्षण भएको छ । प्रदेश ५ मा २ हजार ८ सय ७४ वटा परीक्षण भएको छ । कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० वटा परीक्षण भएको छ । सुदूरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

हालसम्म नेपालमा ८९ जना मानिस आईसोलेसनमा छन् । काठमाडौंमा ३ जना र काठमाडौंबाहिर ८६ जना आईसोलेसनमा उपचार गराइरहेका छन् । त्यस्तै क्वारेन्टाईनमा बस्नेको संख्या १२ हजार ९ सय ८५ रहेको छ ।

मन्त्रालयको कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा १ हजार ७ सय ८ जनाले कल गरेर विभिन्न जिज्ञाशा राखेकोमा स्वास्थ्यकर्मीले उनीहरुको समस्या सम्बोधन गरेका छन् ।

यसैबीच मन्त्रालयको एप र वेवपेजमा २४ हजार ९ सय २६ जनाले आफूलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै भरेको विवरणका आधारमा हालसम्म २ सय ८७ जना मानिस रेड जोनमा परेका छन् । गत २४ घण्टामा मात्रै १३२४ वटा विवरण भरिएकोमा ९ जना रेड जोनमा परेका छन् । तिनको अरु विवरण लिने र ट्रेसिङ गर्ने काम सम्बन्धित महाशाखाबाट भइरहेको छ ।

मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका संक्रमितमध्ये १० जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ३८ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

यस्तै बिहिबार भेटिएका संक्रमितबारे पनि स्वास्थय मन्त्रालयले थप जानकारी दिएको छ । संक्रमित भोजपुरका २६ वर्षे युवा पुरुष हुन् । उनी गत फागुन ३० गते साउदी बाट हिमालयन एअरमार्फत् नेपाल आएका थिए । उनको हाल हतुवागढीमा उपचार भइरहेको छ । केहिबेरमा उनलाई विराटनगर लैजाने मन्त्रालयले जनाएको छ । त्यहाँ उनको थप उपचार हुनेछ । उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि सिधै उदयपुर गएको र त्यसपछि भोजपुर गएको विवरण मन्त्रालयलाई प्राप्त भएको डाक्टर देवकोटाले जानकारी दिएका छन् । संक्रमित युवा उदयपुरमा बस्दा सँगै भेटेका व्यक्तिको पनि जाँच गर्ने कार्य सुरु भइसकेको छ । बाँकी सबैको अवस्था सामान्य छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरस ‘कोभिड- १९’ को कारण विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । त्यस्तै कोरोना संक्रमण निको हुनेको संख्या ७ लाख ५१ हजार १३० पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५५१ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ४८१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा विगत २४ घण्टामा २ हजार ३०० जनाको मृत्यु
कोरोनाका कारण अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको हो । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

यो पनि पढ्नुहोस् : 
अमेरिकाको नर्सिङ होममा ११ हजार वृद्धवृद्धाको कोरोनाको कारण मृत्यु ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?