काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ जना विदेशीलाई फिर्ता पठाइएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले यस्तो निर्णय लिएको हो ।
त्यसरी फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र नौ जनालाई अन अराइभल भिसा अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यलयका प्रमुखले बताए ।
उनले स्वाब टेस्टको प्रमाणपत्र नल्याएकोमा विमानस्थलबाट फिर्ता गरिएका ४४ विदेशी नागरिक चीन, इटली, हङ्कङ, जापान, फ्रान्स, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका, मेक्सिको, इजरेल र भुटानका रहेको बताए ।
शनिवार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई अन अराइभल भिसा नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय भएयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया