त्रिकोणात्मक सिरिज ओमानको पोल्टामा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज ओमानले हात पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार अमेरिकालाई ९२ रनले हराउँदै ओमानले ४ खेलमा ४ जित निकाल्दै सिरिजमा कब्जा जमाएको हो ।

ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

ओमानको उच्च योगफलमा कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले । मध्यम सुरुवात गरेको ओमानका लागि दुवैले तेस्रो विकेटका लागि २ सय १६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

मक्सुदले १ सय ९ रनको शतकीय इनिङ्स खेले । १ सय ३ बलमा शतक बनाएका उनले १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । उनको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो ।

यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । उनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले यस अघि नेपालसँगको खेलमा पनि शतक बनाएका थिए ।

अमेरिकाका सौरभ नेत्राभाल्कर र रुस्टी थेरनले ३-३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?