महोत्तरीमा २ सय ५० रुपैयाँका लागि एक महिलाको हत्या

काठमाडौं । महोत्तरीमा २ सय ५० रुपैयाँका लागि एक महिलाको हत्या भएकाे छ ।

सम्सी गाउँपालिका–१ स्थित दयाराम चौधरीकी श्रीमती रिना चौधरीले आफ्नो पुरानो बक्यौता २ सय ५० रुपैयाँको ताकेता गर्दा ज्यान गुमाउनु परेको हो ।

रिनाले करिब दुई वर्षअघि आफ्ना छिमेकी राजेश ठाकुरलाई भैंसीको दूध बेच्दा २ सय ५० रूपैयाँ बाँकी रहेको र २० असारमा रिनाले बाँकी रकम माग गर्दा राजेशले उनिमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी रिनाको उपचारको क्रममा मृत्यु भएको आरोप पीडित पक्षले लगाएका छन् । मृतक रिनाका १४ वर्षीय छोरा सुरज चौधरीले आमाले दूधको पैसा माग्दा छिमेकी राजेशले किन ताकेता गरिस् भन्दै कुटपिट गरेकाे बताए । कुटाइबाट घाइते भएकी आमाकाे उपचारका क्रममा मृत्यु भएकाे उनले बताए ।

मृतक रिनाका श्रीमान् मलेसियामा काम गर्छन् । रिनाकाे परिवारमा एक छोरा र तीन छोरी छन् ।

यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीले केही दिनअघि उनीहरूबीच झगडा भएको र त्यसबारे उजुरी पनि दर्ता भएकाे तर पछि मोटरसाइकल दुर्घटनामा परी रिना देवी घाइते भएको जानकारी आएकाे बताएकाे छ ।

वास्तविकताबारे छानबिन भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?