काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म प्यान लिनेको संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म यस्तो संख्या ७९ लाख १० हजार ८६४ थियो । यसअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ लाख ८४ हजार ५५० जना नयाँ करदाता थपिएका छन् ।
विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यावसायिक प्यान (बी–प्यान) लिनेको संख्या २२ लाख २७ हजार ८३७ पुगेको छ । असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो । तीन महिनामा ५२ हजार ९२५ व्यावसायिक प्यान थपिएका छन् ।
त्यस्तै, व्यक्तिगत प्यान (पी–प्यान) लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ । गत असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए । यस अवधिमा २ लाख ३१ हजार २२७ जना थपिएका छन् ।
भुक्तानी गर्दा कर कट्टी गर्ने निकायले लिने प्यान (डब्लूपीएएन) को संख्या पनि बढेर ३९ हजार ५६२ पुगेको छ । असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो ।
यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ । गत असार मसान्तसम्म ३ लाख ७८ हजार २६८ जना भ्याटमा दर्ता भएका थिए । तीन महिनामा ११ हजार ७७९ करदाता थपिएका छन् ।
अन्तःशुल्कमा दर्ता हुनेको संख्या पनि बढेको छ । असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको यस्तो संख्या असोज मसान्तसम्म १ लाख ३८ हजार ९२६ पुगेको छ । यस अवधिमा ६ हजार २५४ जना नयाँ करदाता थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया