काठमाडौं । शनिबार चलचित्र ‘ककाकिकी’ को प्रमोसनका लागि गरिएको एक प्रचारात्मक सामग्रीले सबैको ध्यान खिच्यो ।
शनिबार चलचित्रको प्रचारका लागि हलमा रहेका बेला गौरी मल्ल र त्यसपछि मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको देखाइएको थियो । सुरुमा सबैले प्रहरीले गौरी मल्ल र मनोज गजुरेललाई पक्राउ गरेको भन्दै प्रहरी र सरकारकै आलोचना गरे । तर पछि उक्त विषय वास्तविक नभइ प्रचारात्मक सामग्रीका लागि मात्रै भएको थाहा भएपछि भने कलाकारद्वय गौरी मल्ल र मनोज गजुरेलको आलोचना भयो ।
दर्शकहरुको आक्रोशपछि गजुरेलले माफी मागेका छन् । पक्राउ प्रकरणले दर्शकमा पर्न गएको असुविधाबारे गजुरेलले माफी मागेका हुन् ।
‘हिजो चलचित्र ‘ककाकिकी’को लागि खिचिएको दृष्य र प्रचारात्मक प्रश्तुतिका कारण धेरै दर्शकहरुमा भ्रम सिर्जना हुन पुग्यो,’ उनले भनेका छन्, ‘म व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने मान्छे हुँ । तर हिजोको प्रस्तुतिमा म स्वयं पनि सहभागी हुन पुगेँ । यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु ।’
पछिल्लो समय सरकारले पत्रकार पक्राउ र राजनीतिक नेताहरुमाथि हुने धरपकडका कारण समाजको मनोविज्ञान संवेदनशील बन्दै गइरहेको छ । यस्तो बेला मनोरञ्जनका नाममा गराइएको पक्राउ प्रकरणले अनावश्यक भ्रम थपिनु उचित नरहेको उनको भनाइ रहेको छ । आफूहरु संवेदनशील हुँदाहुँदै पनि कहिलेकाँही त्रुटी हुन गएको उनले स्वीकार गरेका छन् । साथै एउटा चलचित्र निर्माणमा ठूलो मेहनत रहेको तर एउटा दृश्यका कारण नकारात्मक दृष्टिकोण नबनाउन समेत गजुरेलले आग्रह गरेका छन् ।
‘समाजको मनोविज्ञान त्यसै पनि संवेदनशील रहेको बेला मनोरञ्जनका नाममा अनावश्यक भ्रम थपिनु उचित होइन । प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक छ । नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयगत त्रुटि हुन पुग्छन् । त्यसलाई स्वीकार्नु र सुधार्नु सर्जकहरुको दायित्व हो । आखिर राम्रो सिर्जनाको सबैभन्दा बलियो प्रचार स्वयं सिर्जनाको गुणस्तर हो,’ उनले भनेका छन्, ‘एउटा चलचित्र धेरै कलाकार र प्राविधिकहरूको मेहनतले बनेको हुन्छ । कुनै एक प्रकृया या शैलिका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगरिदिनु हुन अनुरोध छ । यो प्रसंगमा सुझाव, आलोचना, चासो र चिन्ता गर्नुहुने सचेत मनहरुप्रति आभार तथा धन्यवाद ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया