चितवन । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त रूपमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले संयुक्त पर्यटन परिषद् स्थापना गरिने भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कात्तिक ८ देखि १० गतेसम्म आयोजित ‘नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रमले दुवै देशबीच पर्यटन सहकार्य विस्तार गर्ने निर्णय गरेको हो ।
प्रस्तावित परिषद्मा दुवै देशका पर्यटन विज्ञ, ट्राभल तथा टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक, आतिथ्य क्षेत्रका विशेषज्ञ र अन्य सरोकारवालालाई समेटिनेछ । परिषद्मार्फत संयुक्त गन्तव्यको प्रचारप्रसार, व्यवसायीबीच बीटूबी (बिजनेस टु बिजनेस) भेटघाट, संयुक्त पर्यटन प्याकेज निर्माण, अनुभव आदानप्रदान तथा नियमित नेटवर्किङ कार्यक्रम सञ्चालन गरिने लक्ष्य राखिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्का कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिंह, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका प्रतिनिधि डा.केपी सिंह तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचनलगायत सहभागी थिए ।
कार्यक्रमका क्रममा रामग्राम, अमलटारी, मौलाकालिका, सौराहा, मेघौली तथा चितवन र नवलपुरका विभिन्न पर्यटन गन्तव्य, होटल र रिसोर्टको अवलोकन गरिएको थियो । सहभागीले रामग्रामको धार्मिक तथा ऐतिहासिक महत्त्व, अमलटारीको थारू संस्कृति, मौलाकालिकाको धार्मिक पर्यटन, सौराहाको जङ्गल सफारी तथा मेघौली र नवलपुरको प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाबारे जानकारी लिएका थिए ।
यसै क्रममा नेपाली होटल तथा रिसोर्ट सञ्चालक र भारतीय ट्राभल तथा टुर अपरेटरबीच बीटूबी भेटघाट, पर्यटन नेटवर्किङ तथा व्यावसायिक अन्तरक्रिया गरिएको थियो । छलफलमा नेपाली पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, अनुभव आदानप्रदान गर्ने र नियमित व्यावसायिक सम्पर्क विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले कार्यक्रमले नेपाल र भारतका पर्यटन व्यवसायीबीच दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्न सहयोग पुग्ने जानकारी दिए ।
उनका अनुसार कार्यक्रमले नेपाललाई भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै पर्यटन क्षेत्रमा नयाँ व्यावसायिक अवसर सिर्जना गर्न मद्दत पुर्याउनेछ ।
निजी क्षेत्र तथा पर्यटन व्यवसायीको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै देशका पर्यटन गन्तव्यको संयुक्त प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया